चुनावी रीपोटिङ्ग गरिरहेेका पत्रकार आचार्यमाथि आक्रमण

झापा , १४ फागुन/ नेकपा एमालेका कार्यकर्ताहरुले चुनावी रिपोर्टिङ गरिरहेका पत्रकार अर्जुन आचार्यमाथि आक्रमण गरेका छन् ।
झापाको कमल गाउँपालिकास्थित जीवन चोकमा रिपोर्टिङ गरिरहेका आचार्यमाथि एमालेको भोलेन्टियर फोर्सका सदस्यहरूले बिहीबार दिउँसो आक्रमण गरेका हुन् । २५६१ नम्बरको स्कर्पियोमा चढेका भोलेन्टियर फोर्सका सदस्यहरुले आचार्यमाथि आक्रमण गरेको पिडित पत्रकार आचार्यले जानकारी दिए ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको घरदैलोको क्रममा स्थानीय महिलाहरूले ‘घण्टी’ (राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह) भन्दै साङ्केतिक विरोध जनाएपछि एमाले कार्यकर्ताहरूले ती महिलाहरूमाथि अश्लील शब्द र व्यवहार प्रदर्शन गरेका थिए । सोही दृश्यको फोटो र भिडियो खिच्न खोज्दा पत्रकार आचार्यमाथि आक्रमण भएको हो ।
आक्रमणकारीहरूले आचार्यको मोबाइल खोसेर लगेका थिए भने उनको चस्मासमेत फुटाइदिएका छन् । आक्रमणबाट आचार्यको आँखा, गाला र ढाडमा चोट लागेको छ । अन्य पत्रकारहरूले उनलाई उद्धार गरी सुरक्षित बनाएका थिए । आक्रमणपछि पनि एमाले कार्यकर्ताहरूले पत्रकारको टोलीलाई ‘दमकमा देखाइदिने’ भन्दै धम्की दिएका थिए ।
कोशी प्रदेशमा चुनावी रिपोर्टिङका लागि पत्रकार आचार्यसहितको टोली आज दिउँसो झापा आइपुगेका थिए ।
घाइते पत्रकार आचार्यको नोबेल अस्पताल बिराटनगरमा उपचार भइरहेको छ ।
यता घटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक वसुन्धरा खड्काले घटनास्थलमा इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी परिचालन गरिएको र अनुसन्धानको काम भइरहेको बताइन् ।
