मलेसियालाई ६ विकेटले हराउदै समूह चरणको अन्तिम खेल अघिनै नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं ,१४ कात्तिक / टी—२० विश्वकप छनोट क्रिकेट प्रतियोगिताको मंगलबारको खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको छ । यो जित संगै नेपाल समूह चरणको अन्तिम खेल खेल्नु अघिनै सेमिफाइनलमा प्रवेश गरेको छ ।
जारी छनोट प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जित हो । यसअघि सोमबार खेलिएको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरलाई आठ विकेटले हराएको थियो ।
अाज भएको खेलमा टस जितेर मलेसियाले व्याटिङ्ग गर्दै दिएको १६६ रनको चुनौती नेपालले १८ ओभरमा ४ विकेट गुमाएर भेटायाे । नेपालका कुशल मल्लले अर्धशतक बनाए । मल्ल ३४ बलमा ७ छक्का र २ चाैका प्रहार गर्दै ६५ रन बनाएर आउट भए । यस्तै कुशल भुर्तेल ४३ र आसिफ शेख ३२ रन बनाएर आउट भए ।
यसअघि कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६५ रन बनायाे । मलेसियाका सइद अजिजले सर्वाधिक ६८ रन बनाए । बलिङतर्फ नेपालका अबिनाश बाेहराले ४ तथा सन्दीप लामिछाने, गुलसन झा र कप्तान राेहित पाैडेलले समान १ विकेट लिए ।
अब नेपालले बिहीवार ओमानसँग खेल्नेछ । नेपाल रहेको समूह ‘ए’ मा सिङ्गापुर, ओमान र मलेसिया छन् । समूह ‘बी’ मा यूएई, बहराइन, हङकङ र कुवेत छन् ।
