मन्दिरबाट चोरी गरेको शालिग्राम सहित बर्दियामा एक पुरुष पक्राउ परेका छन् । ठाकुर बाबा नगरपालिका ९ गोब्रेला बस्ने ३४ वर्षीय महेन्द्र विकलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो । 

ठाकुरद्वारास्थित ठाकुर बाबा मन्दिर परिसर भित्रबाट चोरी भएको १ किलोग्राम तौल बराबरको ठुलो शालिग्राम १ थान, ३ सय ग्राम बराबरको शालिग्राम ३ थान र २ सय ५० ग्राम पितलको घोडा १ थानसहित उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

अस्थायी प्रहरी पोस्ट ठाकुरद्वाराबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा उनको घर तलासी गर्दा चोरी भएका सामान फेला परेको प्रहरीले जनाएको छ ।

घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।