ठोस खबर / झापाको कनकाई नगरपालिकाले भुमिहिन सुकुम्बासी र अव्यावस्थित बसोबासीहरुलाई वितरण गर्न तयार गरिएको जग्गा धनिपुर्जा निर्वाचन अाचारसंहिताका कारण स्थगित गरिएको छ ।

मंसिर ४ गते हुने निर्वाचनका कारण निर्वाचन आयोगले कुनैपनि भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुका लागि धनीपुर्जा वितरणको काम नर्गन उर्दी जारी गरेपछि कनकाई नगरपालिकाको धनीपुर्जा बितरण कार्यक्रम हाललाई स्थगित गरिएको हो ।

शनिवार दिउसो ११ बजे कनकाई नगरपालिका ८ का ३० परिवारलाई धनीपुर्जा बितरण गरेर कनकाई नगरपालिकाको धनीपुर्जा बितरण सुरुवात गर्ने भनी कार्यक्रम राखिएको र यसका लगि सबै तयारी पुरा गरिसकिएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउँनुभयो । तर निर्वाचन आयोगले सुचना निकालेपछि तयारी अवस्थामा राखिएको धनीपुर्जा दराजमा थन्काउनुको विकल्प नरहेको नगरप्रमुख पोखरेलको भनाई छ । ८ नम्बर पछि क्रमश ५ नम्बर र ३ नम्बरको समेत धनीपुर्जा बितरणको तयारी थालिदै थियो ।

तर स्थगित गरिएपनि काम भने नरोकिने समेत पोखरेलले बताउँनुभयो । हाल कनकाई नगरपालिकाका सबै ९ वटै वार्डमा धनीपुर्जाका लागि विभिन्न कामहरु हुदै आएका छन तर वितरणको काम भने रोकिएको छ । सम्भवत मंसिर ४ को निर्वाचन पछि लगत्तै धनीपुर्जा बितरणको काम सुरु गरिने समेत नगरप्रमुख पोखरेलको भनाई छ ।